संकल्प मिडिया सेन्टरद्वारा संचालित

ट्रम्पद्वारा चिनियाँ सामानमा नयाँ कर लागू

  •   वासिङ्टन
  •   १६ भाद्र २०७६, सोमबार
  •   एजेन्सी

विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासबीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले अमेरिकाले आइतबारदेखि लागू हुने गरी चिनियाँ सामानको आयातमा नयाँ कर लागू भएको घोषणा गरेको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३ सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत कर वृद्धि हुनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाइ गर्न नसकिने बताएका थिए । उनले भनेका थिए, ‘घोषित कर वृद्धि लागू हुन्छ, यो रोकिँदैन ।’

नयाँ करहरू खाद्य सामग्री, खेलकुदका सामान, संगीत सामग्री र फर्निचरसमेतका दैनिक उपभोगका सामानमा कर वृद्धि गरिएको छ ।

वासिङ्गटनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्युटका अर्थशास्त्रीले अमेरिकाको पछिल्लो कदमले करिब ११२ अर्ब अमेरिकी डलरबराबरका सामानमा असर पार्नेछ ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गत साता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकातर्फ निकासी हुने कुल ५४० अर्बबराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ ।

ट्रम्पको घोषणापछि यसै महिनाको सुरुमा बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । १ सेप्टेम्बरदेखि लागू हुने गरी चीनले ७५ अर्ब अमेरिकी डलरबराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।

सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरूको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरिद गर्ने सामान महँगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

तर, शुक्रबार राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको आरोप लगाए । उनले भने, ‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरूको व्यवस्थापन पनि कमजोर छ ।’

चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताए । ‘हामीले चीनसँग कुराकानी गरिरहेका छौं । वार्ताका लागि मिति तोकिएको छ । एक अर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ता रद्द भएको छैन । हेरौं के हुन्छ,’ उनले भने ।

राष्ट्रपतिले व्यापार युद्ध २०१८ मार्चमा आरम्भ गरेका थिए । उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन् । चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा उपभोग्य वस्तुले ७५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।