संकल्प मिडिया सेन्टरद्वारा संचालित

टेस्ट क्रिकेटमा भारतीय कप्तान कोहलीको २६औँ शतक

  •   काठमाडौं
  •   २४ आश्विन २०७६, शुक्रबार
  •   त्रिबेणी

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा २६औं शतक हिर्काएका छन्। दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा कोहलीले शतक पूरा गरेका हुन्।

दोस्रो टेस्टको पहिलो इनिङमा कोहली चौथो नम्बरमा ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए। कोहली अघि प्रारम्भिक ब्याट्सम्यान मयंक अग्रवालले पनि शतक प्रहार गरिसकेका छन्। अग्रवाल १ सय ८ रन बनाएर आउट भएका थिए।

उनले पहिलो टेस्टको पहिलो पारीमा २ सय १५ रन जोडेका थिए।

शुक्रबार दोस्रो दिनको खेल सुरु गरेको भारतले खाना सत्रसम्म ३ विकेट गुमाएर ३ सय ५६ रन जोडेको छ। जसमा अग्रवाल र कोहलीको शतकसँगै चेतेश्वर पुजारा र अजिन्क्या रहानेको अर्धशतकको पनि योगदान छ।

यसअघि भारतले पहिलो दिनको खेल सकिँदा तीन विकेटको क्षतिमा २ सय ७३ रन बनाएको थियो। दोस्रो दिन कोहली ६३ रनको व्यक्तिगत अवस्थाबाट अगाडि खेल्न सुरु गरेका थिए।

कोहलीले एकदिवसीय क्रिकेटमा ४३ शतक पुरा गरेका छन्। शुक्रबार पूरा भएको शतकसमेत जोड्दा उनले आफ्नो करिअरमा ६९ शतक प्रहार गरेका छन्। क्रिकेटमा १ सय शतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर एकमात्र खेलाडी हुन्।

कोहली क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। उनीअघि अष्ट्रेलियाली पूर्वकप्तान रिकी पोन्टिङ छन्। पोन्टिङको नाममा ७१ शतक छ।