जुम्लाका मालपोत अधिकृतले ५ सय ९० रोपनी सरकारी जंग्गा बदमासी गरी परिवारको नाउँमा बनाएको घटना सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास हाताको २९९ रोपनी जग्गा भूमाफियाले हडपेको चर्चा चलिरहँदा त्योभन्दा दोब्बर सरकारी जग्गा मालपोत अधिकृतले आफ्नी श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको भेटिएको हो ।
जुम्लाको गुठिचौर गाउँपालिका–४ बाउलीगाउँका मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपाने हाल सेवा निवृत्त भइसकेका छन् । न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको भेटिएको हो ।
चाउले हिमाल मुनिको कोल्टे गाउँबाट पश्चिममा पर्ने भेडाबाख्रा अनुसन्धान कार्यक्रमको फार्ममा न्युजिल्याण्ड र अस्ट्रेलियाबाट ल्याइएका उन्नत जातका भेडा बाख्राबाट नश्ल सुधार गर्ने गरिन्छ ।
राष्ट्रिय भेडाबाख्रा फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ । साविक गुठिचौर गाविस– ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ । त्यसैमध्येको तीन लाख वर्ग मिटर (५९० रोपनी) जग्गा न्यौपानेले निजी बनाइदिएका हुन् ।
मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाउनुभएको हो ।
पण्डितले सिराहको  सिडिओ भएको बेलापनि हडपिएको २१ विघा जग्गा जमिन सरकारको नाममा ल्याउनुभएको थियो ।  पण्डित २०७२ चैतमा जुम्लाको सिडिओ हुनुभएको थियो । गुठिचौरको सरकारी जग्गा व्यक्तिको बनाउँदा न हदवन्दीको पालना भएको छ , न स्थानीय निकायको सिफारिस नै भएको देखिन्छ ।
भूमि सम्वन्धी ऐन २०२१ ले पहाडी जिल्लामा खेतीपातीको लागि ७५ रोपनी र घरबासको लागि ५ रोपनीसमेत गरी ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरे पनि  आफ्नै जिल्लामा मालपोत अधिकृत हुन पुगेका न्यौपानेले भने आफ्नी श्रीमती गोमा र छोरी पार्वतीको नाममा १ सय ३८ रोपनी जग्गा दर्ता गराएको भेटिएको हो ।
मालपोत अधिकृतले मालपोत ऐन २०३४, भूमि सम्वन्धी ऐन २०२१ र जग्गा नाप जाँच ऐन २०१९ ले गरेको व्यवस्थाभित्र रहेर जग्गा दर्ता, नामसारी, रजिष्ट्रेशन, लिखत पारीत लगायतका कामकारबाही गर्नुपर्ने हुन्छ ।
त्यसोत मालपोत अधिकृतले आफ्नो र परिवारको स्वार्थ रहेको जग्गाबारे निर्णय गर्न पनि पाउँदैनन् । भोग प्रमाणले जग्गा दर्ता योग्य देखिए परिवारको मुलीको नाममा जग्गा दर्ता गरेर अंशियारलाई अंशबन्डा गर्नुपर्छ । तर मालपोत अधिकृत न्यौपानेले कुनै नियम पालना गरेका छैनन् । उनले राजश्व छली गर्ने उद्देश्यले गुठिचौरको सरकारी जग्गा १४ जनाको नाममा सीधै दर्ता गराएको देखिएको सिडिओ पण्डितकोे अनुसन्धान प्रतिवेदनले बताउँछ ।
प्रतिवेदन अनुसार, न्यौपानेले १४ जनामध्ये सबभन्दा धेरै ३५ हजार १५० वर्गमिटर जग्गा श्रीमती गोमा र त्यसपछि ३४ हजार ८५० वर्गमिटर छोरी पार्वतीको नाममा दर्ता गराएको देखिन्छ ।
उनले अन्य १२ आफन्तमध्ये एक जनाको नाममा ३३ हजार वर्गमिटर, अर्का एक जनालाई ३२ हजार ३३५ वर्गमिटर र ६ जनाको नाममा २० हजार वर्गमिटर जग्गा दर्ता गराएका छन् । त्यस्तै, एक जनालाई १३ हजार ३३५ वर्गमिटर, एक जनालाई १३ हजार ३३० वर्गमिटर र एक जनालाई २ हजार वर्गमिटर जग्गा दर्ता गराइदिएका छन् ।