संकल्प मिडिया सेन्टरद्वारा संचालित

‘जय नेपाल’ अभिवादन र इतिहास

  •   काठमाडौं
  •   २ जेष्ठ २०७६, बिहीबार
  •   अन्नपुर्ण पोष्ट

अर्जुननरसिंह केसी/

‘जय नेपाल’ कांग्रेसले कतैबाट सापटी लिएको होइन, यसलाई स्थापित गर्ने र देशव्यापी बनाउने केवल हामी हौं।

मानिस जब जिम्मेवारीबाट च्युत हुन्छ, तब आफूसँग असहमत पक्षतिर आक्रोश पोखेर आफ्नो औचित्य र सान्दर्भिकता देखाउने धृष्टता गर्छ। नेपाली कांग्रेसले अपनाएको अभिवादन ‘जय नेपाल’ को विषयलाई लिएर यतिबेला वैचारिक अराजकतावादी तर्कहरू प्रस्तुत गरिएको छ। त्यसमा पनि निर्विवाद विषयमाथि यस्ता कुतर्क र निराधार लाञ्छना थोपर्दै विषवमनको हर्कत सत्तासीनबाटै हुनु झन् दुःखद विषय हो।

घाम झैं अटल ऐतिहासिक तथ्यहरूको उपेक्षा र वैचारिक रित्तोपनमा सुनिएका निरपेक्ष र निराधार विचारलाई प्रतिवाद गरेर साध्य हुँदैन। तर पनि कांग्रेसले अपनाएको ‘जय नेपाल’ को अभिवादनले इतिहासको धरोहर बोकेको तथ्य सबैको जानकारीका लागि प्रस्तुत गर्नु हामी आफ्नो गौरवमय जिम्मेवारी र उत्तरदायित्व मान्छौं।
हरेक मुलुकको युगान्तकारी परिवर्तन, स्वतन्त्रता र विकास यात्रामा राष्ट्रिय जागरणका आआफ्नै इतिहास हुन्छन्। राणाकालका चार महान् सहिदमध्ये शुक्रराज शास्त्री र दशरथ चन्द अभिवादनका रूपमा ‘जय नेपाल’ लाई आफ्नो मूल मन्त्रका रूपमा उच्चारण गर्न थालेका थिए, जसले कालान्तरमा राष्ट्रिय जागरणको वीजारोपणका रूपमा प्रकट भयो। विसं १९९७ साल माघ ६ गते दिउँसो १०/११ बजे शुक्रराजलाई सर्वस्व हरणसहित फाँसीको सजाय घोषणा गरियो। फैसला सुनाइसकेपछि राणाहरूले उहाँलाई ‘तिम्रो अन्तिम इच्छा के छ ? ’ भनी सोध्दा शुक्रराजले ‘जय नेपाल’ मात्रको प्रतिक्रिया दिनुभयो। राणाहरूले फेरि, ‘होइन, तिम्रो अन्तिम इच्छा के छ ? ’ भनी सोधे। शुक्रराजले जुरुक्क उठेर भन्नुभयो, ‘जय नेपाल’। प्रातः स्मरणीय सहिदले ‘जय नेपाल’ को परम्परा यसरी नै प्रारम्भ गर्नुभएको हो।
भारतमा सन् १९०७ मा नेताजी सुवासचन्द्र बोसका निकटतम सहकर्मी चम्पकरमण पिल्लाईले सर्वप्रथम ‘जय हिन्द’ को अभिवादन सूत्रपात गरे भनिन्छ। भारत विभाजन र पाकिस्तानको उदयका लागि खासगरी सन् १९४१ देखि छुट्टै इस्लाम राज्य चाहनेहरूबाट ‘पाकिस्तान जिन्दावाद’ को नारा लगाउन थालियो। राष्ट्रको सर्वप्रथम उदय जनमानसमै हुन्छ।
आफ्नो स्थापनाको पहिलो दिन, १२ माघ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नेपालका चार महान् सहिदप्रति पहिलोपटक श्रद्धाञ्जली अर्पण र ‘जय नेपाल’ को पुकारलाई कांग्रेसको अभिवादन मान्ने विधिवत् परम्पराको थालनी गर्‍यो। यसमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ को भावना अन्तरनिहित छ। त्यसअघि नेपालमा कहिल्यै पनि शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने प्रचलन थिएन, न त देशभक्तिको भावना जागृत गराउने अभियानका लागि ‘जय नेपाल’ को अभिवादन अपनाइएको थियो। राणा निरंकुशताको अन्त्य, राजनीतिक, सामाजिक र आर्थिक विकासका लागि जनक्रान्तिको तयारी गरिरहेको कांग्रेसले राष्ट्रिय एकता, राष्ट्रिय जागरण र देशभक्तिको प्रतीक ‘जय नेपाल’ लाई अपनायो। २००७ सालको क्रान्तिमा यो अभिवादन क्रान्तिघोष (ब्याटल क्राई) का रूपमा थियो भने क्रान्तिपछि राष्ट्रिय अभिवादनकै रूपमा कांग्रेसबाटै स्थापित हुँदै आयो।
भारतमा पार्टी संगठन हुर्काइरहेको कांग्रेसले आफ्नो अभिवादनका लागि अपनाइसकेको ‘जय नेपाल’ कवि गोपालप्रसाद रिमालले देशभित्र यो अभिवादनको प्रचलनका लागि अभियानै चलाउनुभयो। २००३ सालमा तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसका नेताहरू बीपी कोइराला र डा. डिल्लीरमण रेग्मीका बीच चलेको राजनीतिक विवाद मिलाउन रिमाल बनारस नै पुग्नुभएको थियो। ००७ सालको क्रान्तिमा रिमाल सक्रिय रूपमा खट्नुभयो, यद्यपि उहाँ कांग्रेसको संस्थापक होइन। उताबाट फर्केपछि देशभित्र अभियानका रूपमा यो अभिवादन चलाउने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो।
२००७ सालको क्रान्तिताका राजा त्रिभुवनले देशवासीका नाममा सन्देश दिँदा पहिले अल इन्डिया रेडियोबाट र दोस्रो नेपाल प्रजातन्त्र रेडियो (पछि रेडियो नेपाल नामकरण गरिएको) दुवै सन्देशको अत्यमा ‘जय नेपाल’ अभिवादन रहेको छ। यसो हुनाको कारण ती सन्देशलाई अन्तिम रूप दिने कांग्रेस नेताहरू नै थिए।

जसले जस्तो अभिवादन गरे पनि हामीलाई कुनै आपत्ति, निन्दा र तिरष्कार छैन। तर राष्ट्रको जय, सम्पूर्ण नेपाली र नेपालको जय भन्ने उदात्त भावना बोकेको राष्ट्रभक्ति र लोकतन्त्रद्वारा ओतप्रोत ‘जय नेपाल’ भन्दा आपत्ति मान्नु कुन स्तरको राष्ट्रवाद हो ?

२००७ साल मंसिर २८ गते बिहान आठ बजे प्रजातन्त्र नेपाल रेडियो (आजको रेडियो नेपाल) स्थापना भई क्रान्तिका कार्यक्रम प्रसारण गर्न सुरु भयो। यसको संस्थापक हुनुहुन्थ्यो, तारिणीप्रसाद कोइराला। २००७ सालको क्रान्तिले जन्माएको रेडियो नेपालको पहिलो प्रसारण वाक्य थियो, ‘जय नेपाल ! प्रजातन्त्र नेपाल रेडियोबाट तारिणीको पहिलो अभिवादन ! हामी नेपालको मुक्त क्षेत्र विराटनगरबाट प्रजातन्त्रको सन्देश सुनाउन लागेका छौं।’ राष्ट्रियता बोकेको प्रजातान्त्रिक अभिवादन ‘जय नेपाल’ जो आज पनि रेडियो नेपालले प्रसारणको सुरुमा नित्य निरन्तर अभिवादनको रूपमा उद्घोष गर्दै आएको छ।

२००७ सालको क्रान्ति सम्पन्न भएपछि कांग्रेस नेतृत्वको मुक्ति सेना ‘रक्षा दल’ हुँदै नेपाल प्रहरीमा समायोजन भएपछि ती क्रान्तिकारीले आफ्नो अभिवादन ‘जय नेपाल’ नेपाल प्रहरीमा प्रवेश गराए। प्रहरीमा पनि यो अभिवादन कांग्रेसबाटै गएको हो। यो अभिवादन नेपाल प्रहरीले नित्य निरन्तर आफ्नो सलामीको रूपमा ‘जय नेपाल’ नै भन्ने गरेको छ। पहिलो जनक्रान्ति सम्पन्न भएपछि जय नेपाल क्रमशः राष्ट्रका महŒवपूर्ण संस्थापनबाट देशमा फैलिन थाल्यो। ‘नेपाल’ भनेको काठमाडौं उपत्यकालाई ठान्ने त्यो बेलाको चेतनाको स्तरलाई मेटाएर जनक्रान्तिको उभारले मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म नेपाल हो र यहाँ बसोवास गरेका सबै नेपाली हुन् भन्ने राष्ट्रिय भावना उजागर गर्‍यो। ‘नेपाल’ शब्द नै सीमित भूगोलका लागि उच्चारण हुने त्यो जमानामा यस अभिवादनसँगसँगै राष्ट्रको नाम सर्वत्र गुन्जिन थालेको हो।

कांग्रेसका संस्थापक नेता तथा पार्टीका महामन्त्री धनमान सिंह परियारले आफ्नो कार्यकालमा धेरैवटा रचनात्मक काम गर्नुभएमध्ये काठमाडौंको धोबीचौरलगायत अन्य दुई स्थानमा बालसखा दल र बालविद्यालयको स्थापना मुख्य हो। २००८ साल असोजमा गठन भएको बालसखा दल र उहाँकै सम्पादनमा ‘बाल सखा’ नामक मासिक पत्रिका प्रकाशित हुने गरेको थियो। बालबालिकालाई उचित शिक्षा, व्यक्तित्व विकासका गतिविधि, अन्धविश्वासबाट मुक्त गराउनु बालसखा दलको मुख्य उद्देश्य थियो। देशका अन्य भागमा पनि बालसखा दलको स्थापना हुन थालेको थियो। बालसखा दलमा युगकवि सिद्धिचरण श्रेष्ठको यो कवितालाई राष्ट्रिय गीतका रूपमा बालबालिकालाई गाउन लगाइन्थ्यो—

हिमगिरि–मण्डित सुगन्ध शोभित,
जय जय आमा नेपाल।

राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित राष्ट्रभक्ति गीत, ‘गाउँछ गीत नेपाली…..’ को दोस्रो पंक्तिमा ‘जय जय जय नेपाल सुन्दर शान्त विशाल’ रहेको छ। यो गीत कुनै बेला देशभरिका सबै विद्यालयमा प्रार्थनाका रूपमा गाउन अनिवार्य गरिएको थियो। यो राष्ट्रगीतको रचना–उत्प्रेरणा ००७ सालको क्रान्ति, प्रजातन्त्र एवं यी दुवैको स्रष्टा–शक्ति कांग्रेसले नै सम्भव तुल्याएको हो। जय नेपालको अभिवादन हाम्रो राष्ट्रगानसम्म, ‘…अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल’ का रूपमा सुसज्जित छ।
यस्ता सारा ऐतिहासिक तथ्य र यथार्थ लत्याउँदै सत्ताबाटै आएको स्तरहीन र अशोभनीय टिप्पणी वा प्रतिक्रियाले सबैलाई आश्चर्यमा पारेको छ। ऐतिहासिक तथ्यले के स्पष्ट पार्छ भने ‘जय नेपाल’ कांग्रेसले कतैबाट सापटी लिएको होइन। यसलाई स्थापित गर्ने र देशव्यापी बनाउने केवल हामी हौं। कम्युनिस्टहरू ‘लालसलाम’ भन्ने अभिवादन गर्छन्। नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहले ‘जय मातृभूमि’ को अभियान चलाउनुभयो। जसले जस्तो अभिवादन गरे पनि हामीलाई कुनै आपत्ति, निन्दा र तिरष्कार छैन। तर राष्ट्रको जय, सम्पूर्ण नेपाली र नेपालको जय भन्ने उदात्त भावना बोकेको राष्ट्रभक्ति र लोकतन्त्रद्वारा ओतप्रोत ‘जय नेपाल’ भन्दा आपत्ति मान्नु कुन स्तरको राष्ट्रवाद हो ? के मनसाय हो ? यस्तो आपत्तिबाट उहाँहरूमा आफ्नो पार्टीगत अभिवादनप्रति सन्तुष्ट नभएको र हामीले ‘जय नेपाल’ भनेकोमा ईश्र्या भएको मनोवैज्ञानिक संकेत र अनुभूतिका रूपमा झल्किन्छ।

प्रतिपक्षतिर संसद्मा प्रधानमन्त्रीले गरेका त्यस्तै स्तरहीन असंसदीय टिप्पणीलाई संसद्ले आफ्नो रेकर्डबाट हटाउनुपरेको इतिहासमा पहिलोपटक यसैपालि भयो। सरकार आफ्नो असफलता लुकाउन कांग्रेसतिर प्रहार गरिरहेको छ, तर यो प्रत्युत्पादक मात्र होइन, उतैतिर बुमेर्‍याङ भइरहेको छ। दम्भ र अहंकार, झूट र भ्रमको क्षणिक खेती देखेर कांग्रेस कदापि पराजित मानसिकता बोक्दैन। कम्युनिस्ट पार्टीले संसद्मा पर्याप्त समर्थनसहितको सरकार बनाएको छ, तर पराजित मानसिकताबाट ऊ नै ग्रसित देखिन्छ। ‘जय नेपाल’ को अभिवादनप्रति सरकारकै प्रवक्ताबाट सुनिएको खेदजनक अभिव्यक्तिमा त्यही दुर्दशाको प्रतिविम्बित भएको छ। #अन्नपुर्ण पोष्टबाट साभार