संकल्प मिडिया सेन्टरद्वारा संचालित

राष्ट्रपति भण्डारी गणतन्त्र दिवसको अवसरमा आफैबाट सम्मानित

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेकी छन्। शीतल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत छन्। यसैगरी पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि सम्मानित हुनेहरुको सूचीमा छ।
राष्ट्रपति भण्डारी आफैं पनि सम्मानितको सूचीमा छिन्।
संविधानसभा पदक वितरणका लागि गृह मन्त्रालयले १ हजार १ सय ९ जनाको नामावली सार्वजनिक गरेको थियो। तर, कतिपय व्यक्तिहरु भने पदक ग्रहण गर्न सहभागी भएका छैनन्।
यसरी सम्मान पाउनेमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका तीन नेता पनि रहेका छन्। पहिलो र दोस्रो संविधानसभाका सदस्य रहेका उनीहरुलाई संविधान निर्माणमा योगदान पुर्‍याएको भन्दै सम्मानितको सूचीमा राखिएको हो। सूचीमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, उमा भुजेल, सन्तोषकुमार बुढा मगरसहितका नेता छन्। संविधानसभा पदकबाट विभूषित हुनेको सूचीमा उनीहरुको नाम समावेश गरिएको हो।
पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालिकोट–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । नेता मगरले भने २०६४ सालमा रोल्पा– २ बाट चुनाव जितेका थिए।
त्यस्तै, विप्लव समूहकी पोलिटब्युरो सदस्य भुजेल पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन्।