संकल्प मिडिया सेन्टरद्वारा संचालित

खेलकुदका लागि तीन अर्ब ९९ करोड बजेट विनियोजन

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

नेपाल सरकारले बुधबार खेलकुदका लागि तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको  छ । बजेटमा बालबालिका तथा युवाको स्वस्थ्य, शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा समुदायस्तरदेखि नै नियमित रूपमा खेलकुद प्रतियोगिता आयोजना, खेलाडीको प्रशिक्षण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसरको अध्ययन
बजेटमा उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने उल्लेख छ । सबै प्रदेशमा प्रदेशसँगको सहलगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला र प्रदेश तथा स्थानीय तहसँगको सहलगानीमा सबै स्थानीय तहमा खेलग्रामको विकास गर्न ४० करोड रकम विनियोजन गरिएको छ ।
मूलपानीलाई १० करोड
सरकारले मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि १० करोड विनियोजन गरेको छ । निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेटलगायत खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने बजेटमा उल्लेख छ । साथै, सरकारले क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गर्ने पनि जनाएको छ ।
सरकारले घोषणा गरेको बजेटमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)को पूर्वाधार विकासका लागि तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरेको उल्लेख छ । समग्रमा युवा तथा खेलकुद क्षेत्रमा कुल ३ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।
गत वर्ष चार अर्ब १८ करोड
गत वर्ष भने महत्वपूर्ण खेलकुद प्रतियोगिता तथा प्रदेशस्तरीय संरचना निर्माणलाई ध्यानमा राखेको भन्दै चार अर्ब १८ करोड ९५ लाख बजेट विनियोजन गरिएको थियो । त्यसअघि आर्थिक वर्ष ०७४÷७५ मा खेलकुद मन्त्रालयका लागि दुई अर्ब २४ करोड बजेट विनियोजन गरिएको थियो । #नयाँ पत्रिकाबाट साभार