संकल्प मिडिया सेन्टरद्वारा संचालित

कोरला नाकामा सेना र सशस्त्रको क्याम्प

  •  
  •   २५ कार्तिक २०७५, आईतवार
  •  

बेनी : नेपाल र चीनबीच व्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको उपल्लो मुस्ताङस्थित कोरला नाका सञ्चालनका लागि सरकारले सुरक्षा तयारी थालेको छ।
बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत् पहुँचमार्गको स्तरवृद्धिलाई तिब्रतासँगै लोमान्थाङमा नेपाली सेना र गलेश्वरमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरेको हो।
कोरला नाकाको प्रवेशबिन्दु म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको गुल्म स्थापना भएको छ। कुश्मास्थित सशस्त्र प्रहरीको चण्डिका गण अन्तर्गतको गुल्ममा हाल ३५ जना प्रहरी खटिएका छन्।
अस्थायी रुपमा स्थापना भएको गुल्मलाई भौतिक पूर्वाधारको व्यवस्था गरेर स्थायीमा रुपान्तरण गरिने र जनशक्ति पनि थप हुने प्रहरी नायब उपरीक्षक अर्जुन कार्कीले बताए।
कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा आइतबार मेजरको नेतृत्वमा सेनाको क्याम्प स्थापना गरिएको हो। जोमसोमस्थित बज्रदल गण अन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ।
क्याम्प समुद्री सतहदेखि ४ हजार मिटरको उचाइमा अवस्थित छ। सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवन लगायत पूर्वाधार निर्माण गरिएको मुस्ताङका सहायक प्रजिअ विश्वेश्वरप्रसाद रेग्मीले बताए।
‘आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको हो’, रेग्मीले भने, ‘उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ।’
मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरोनियम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने बताए।
कोरला नाकानजिकै पर्ने नेचुङ भन्सार कार्यालय २१ वर्षपछि २०७३ मा पुनःस्थापना भएको थियो। जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पु¥याउन ५ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ।
म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडक २ लेनको कालोपत्रे गर्ने तयारी भएको छ। नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किलोमिटर दूरीको कालीगण्डकी कोरीडोर भारत र चीन जोड्ने नेपालकै छोटो सडक हो।
गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरिडोर अन्तर्गत बागलुङ, गुल्मी, पर्वत खण्डमा सडकको ट्र्याक खुलेको छ। #अन्नपुर्ण पोष्टबाट साभार