संकल्प मिडिया सेन्टरद्वारा संचालित

कांग्रेस बैठक, सरकारबारे प्रश्नैप्रश्न नेतृत्वमाथि दबाब

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सरकारको क्रियाकलापका विषयमा पार्टी नेतृत्व मौन बसेको भन्दै नेतृत्व र सरकारबारे प्रश्न उठेको छ । जारी बैठकमा सरकारका गतिविधिमाथि पार्टी नेतृत्व मौन बसेको र प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्दै अधिकांश केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् ।

दिनहुँजसो बस्दै आएको बैठकमा सरकार बनेयता सरकारी पक्षबाट विभिन्न किसिमका काण्डैकाण्ड हुँदा समेत पार्टी नेतृत्व मौन बसेको भन्दै अधिकांश केन्द्रीय सदस्यले पार्टी नेतृत्वमाथि प्रश्न गरेका छन् । उनीहरूले हरेकजसो बैठकमा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्न समेत पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
केन्द्रीय सदस्य रमेश रिजालले बैठकमा सरकारका गतिविधिका विषयमा केन्द्रीय सदस्यले धारणा राख्दै आएको र पार्टीको भूमिका सशक्त बनाउन सुझावसमेत दिएको जनाए । बैठकमा केन्द्रसँगै प्रदेश र स्थानीय सरकारमा भ्रष्टाचार मौलाएको, निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण, वाइड बडी काण्ड, सुन काण्ड, चिनी काण्ड, बालुवाटार र मेलम्ची काण्ड तथा पछिल्लोपटक मन्त्रिपरिषद् बैठकसमेत सरकारले भिडियो कन्फ्रेन्समार्फत गरेकोप्रति नेतृत्व मौन रहेको भन्दै केन्द्रीय सदस्यले विरोध गरेका हुन् ।

यसैगरी, प्रधानमन्त्री मातहत नै तान्ने गरी भए जति अधिकार केन्द्रीकृत गरेको, संवैधानिक आयोगलाई प्रधानमन्त्रीकै मातहत लैजान खोजेको, सेनालाई प्रधानमन्त्री आफैंले परिचालन गर्ने गरी अधिकार कुण्ठित गर्न खोजेको, न्यायालय र सुरक्षा संयन्त्रलाई कमजोर बनाएको तथा प्रेस र मानवअधिकार आयोगको अधिकार संकुचन गर्न खोजेको भन्दै बैठकमा यति हुँदासम्म पनि नेतृत्व मौन रहेको भन्दै आलोचना भएको छ ।
बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेललगायतका नेताले सरकारले काण्डैकाण्ड मच्चाउँदा समेत नेतृत्वले टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन् ।
‘सरकार काण्डैकाण्डले चर्चित छ तर नेतृत्व मौन बस्छ, जुन रूपमा दह्रो प्रतिपक्षीको भूमिका कांग्रेसले देखाउनुपर्ने हो, त्यो भइराखेको छैन,’ केन्द्रीय सदस्य केसीले भने ।
यसैगरी, केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रदेखि स्थानीय तह हुँदै वडासम्म भ्रष्टाचारको जालो मौलाएको भन्दै पार्टी नेतृत्व मौन बसेकोप्रति बैठकमा असन्तुष्टि राखेका छन् । बैठकमा नेता शेखर कोइरालाले सरकारले झुटको खेती गरिरहेको तर सरकारको गलत प्रवृत्तिलाई पार्टीले बाहिर ल्याउन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

कोइरालाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितामाथि कोही कसैबाट खतरा छ भने पहिलो खतरा सरकारमा बसेकै दल र तीनका नेताबाट छ भन्दै पार्टी नेतृत्वलाई खबरदारी गर्न समेत सुझाए । कोइरालाले समय सकिएका सबै भ्रातृ संगठनको विधानअनुसार अधिवेशन गर्न पनि बैठकमा माग गरे । यस्तै, आगामी १४औं महाधिवेशनमा हिन्दू राष्ट्रको विषय चर्को रूपले उठ्ने भन्दै उनले सो मुद्दाको व्यवस्थापनबारे पार्टीको ध्यान जानुपर्ने बताए ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकारको ज्यादती देखेर आमनागरिक वाक्क भएको भन्दै जनताले सरकारविरुद्धको सशक्त कांग्रेसको अपेक्षा गरिरहेको बताए । उनले जारी बैठकमा सरकारविरुद्ध देशभर सभा गर्न समेत प्रस्ताव गरेका छन् ।
जारी बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महतले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल भइरहेको छ भने भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाको सकिएको म्यादबारे पनि छलफल जारी छ । यसैगरी, विदेशस्थित जनसम्पर्क समितिबारे पनि बैठकमा छलफल भइरहेको छ ।
आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू महेश आचार्य, प्रदीप गिरी, डा. मीनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. चन्द्र भण्डारी, गगनकुमार थापा, श्यामकुमार घिमिरे, डा. डिला संग्रौला र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले धारणा राखेका थिए । राजधानीबाट