संकल्प मिडिया सेन्टरद्वारा संचालित

कञ्चनपुरमा फेरि चल्याे गाेली, १४ वर्षीय किशाेरकाे मृत्यु: स्थानिय आक्रोशित

  •  
  •   ८ भाद्र २०७५, शुक्रबार
  •  


८ भदौ, काठमाडौं । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय चेतन भट्टको मृत्यु भएको छ ।
आज भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै गोली चलाउदा भट्टको निदन भएको हो । त्यस्तै अन्य ४ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यद्यपि, स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको प्रहरी स्रोतले बताएको छ ।
शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।
निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।
यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।
बिहीबार पनि आन्दोलनका क्रममा गोली चल्दा ३ जना घाइते भएका थिए । लगत्तै, गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलार्इ फिर्ता बोलाएको थियो ।
यसअघि सरकारले बिहीबार पन्त बलात्कार प्रकरणको छानबिनका लागि सह(सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूको परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि आन्दोलन मथ्थर हुने अपेक्षा गरिएको थियो ।
तर शुक्रबार अपरान्ह प्रहरीले गोली नै चलाउनु पर्ने स्थिति सिर्जना भयो ।