संकल्प मिडिया सेन्टरद्वारा संचालित

ओमानविरुद्ध १५० रनको जित, विश्वकपमा छनोट हुन ओमानकै भरोसा

  •  
  •   ३ बैशाख २०७६, मंगलवार
  •  

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई पराजित गरेको छ ।
सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो । ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर छुन सके । अमानप्रित सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले नेपालको पारी सम्हालेका थिए । उनले ७५ रन बनाए । ८१ बलको सामना गरेका रोहितले पाँच चौका र दुई छक्का प्रहार गरे ।
त्यस्तै, प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, भीम सार्कीले ३९ रन बनाउँदा अभिषेक बस्नेतले १५ रन बनाए ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । १२ रन हुँदा ओपनर पवन सर्राफलाई व्यक्तिगत ५ रन गुमाएको नेपालले ३३ रन हुँदा दोस्रो विकेटको रुपमा रित गौतमलाई व्यक्तिगत १० रनमा गुमाएको थियो ।
लगतै अभिषेक र सन्दीप जोरा आउट भएपछि नेपाल दबाबमा आएको थियो । नेपालको एकपछि अर्को विकेट पतन भइरहँदा क्रिसमा कप्तान रोहित भने डटिरहे । रोहितले भीम सार्कीसँग ९३ रनको साझेदारी गरेपछि नेपालको अवस्था केही सुध्रिएको थियो ।
ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रविन्द्र र जिल तन्नाले समान २–२ विकेट लिए ।
अर्को खेलमा भने यूएईले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १३५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले २६.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।