संकल्प मिडिया सेन्टरद्वारा संचालित

उपमेयर सरिता वली भन्छिन्– काम गरौं भन्यो, पैसा खोज्या हो भन्छन्

  •  
  •   २१ श्रावण २०७५, सोमबार
  •  

काठमाडौं, २० साउन– भौगोलिक रुपमा विकट जाजरकोट समय समयमा चर्चामा आइरहन्छ । कहिले झाडापखालको महामारी, कहिले पहिरोका कारण वा यस्तै यस्तै । राजनीतिक बृतमा पनि शक्तिशाली नेताहरु जन्माएको ठाउँ हो जाजरकोट । गएको स्थानीय चुनावमा उपमेयरका लागि महिलालाई अनिवार्य गरेपछि हिजोआज त्यहाँका नगरपालिकामा महिलाको चहलपहल बढेको छ । तर पितृसत्ताले जरोगाडेको समाजमा एकैपटक महिलाको सहभागिता हुनुले कतिपयले भने त्यसलाई अझै सहज रुपमा लिन सकेका छैनन् । 
जाजरकोटको छेडागाड नगरपालिकाको उपमेयर बनेपछि पहिलो पटक शनिबार काठमाडौ आइन् सरिता वली । तत्कालिन नेकपा एमालेको तर्फबाट मेयर लालवहादुर महतारा र उपमेयरमा सरिता ओलीले चुनाव जितेका थिए । आफनै  पार्टीका मेयर भएपनि उनीबाट आफुले खासै सहयोग पाउन नसकेको उनको गुनासो छ । उपमेयर सरिता भन्छिन,–‘एउटै पार्टीको मेयर भएपछि कामगर्न सजिलो होला भन्या, झनै गाहे भयो ।’ आफ्नै स्थानीय बोलीचालीको भाषामा उनले भनिन्–महिलाले के गर्न सक्छौं भन्दै हेप्ने शैलीकै कारण राम्रा योजना ल्याउन सकेको छैन ।’
छेडागाड नगरपालिकामा ३६ हजार ५ सय जनसंख्या छ । उपमेयर बनेपछि गाउँमा सबैभन्दा मुख्य चुनौती बालविवाह रोक्नुपर्ने चिन्ता छ ।  सरिता भन्छिन,–‘हामीले २० बर्ष नपुगी विवाह गर्ने हुँदैन भन्छौ, उनीहरु १५ बर्ष नपुग्दै विद्यालयबाटै भागेर विवाह गर्छन् ।’ आफूहरुले २० बर्ष नपुगी विवाह नगर भन्दै सिकाउँदै हिडेको तर १५ बर्षमै विवाह गर भनेर सिकाएको जस्तो परिणाम आएको उनको अनुभव छ । गाउँमा पुरानो सोच भएका बाबुआमाले पनि छोराछोरी १४÷१५ बर्ष पुग्न लाग्दा आँफै विवाह गरोस् भन्ने मनस्थिति पनि पाएको उनले बताइन ।
‘छोरी बढेपछि अर्काको घर गइजा राम्रो होला भन्ने, अनि छोराले पनि ल्याउँछ, आफै ल्याए सुख हुने थियो भन्ने चलन छ’ उनी भन्छिन् । गाविस र नगरपालिकामा यस्तै चलन चलेको धेरै भयो  । अहिले मागी विवाह हुनु भनेको धेरै ठूलो कुरा भएको छ । सरिताका अनुसार, जिल्लामा ९० प्रतिशत भागी विवाह गर्ने चलन बसेको छ । उनले हास्दै भनिन, ‘जाजरकोटको प्रगती भागी विवाहमा पो भएको छ ।’
गरिवीकै कारण वालविवाह गर्नेको संख्या बढेको उनको तर्क छ । ‘अहिलेको जमानामा छोरीलाई मोवाइल चाहियो, मोवाइल छैन । छोरी महिनै पिच्छे लुगा फेर्न खोज्छन्, बाबुआमाले बर्षमा एकजोर कपडा हालिदिन सक्दैनन्,  अनि कहाँ बस्छन् त छोरी घरमा ? उनले प्रश्न गरिन्,‘गाउँमा सानैमा विवाह गर्नुको मुख्य कुरा लोभमा परेरै हो । पछि के हुने त्यो सोच्दैनन ।’
समाजमा भएको त्यही कुरीति कुविचार अन्त्य गर्न अभियान पनि चलाइन् । कार्यपालिकामा निर्णय पनि गराइन् तर बजेट छैन । कलिलै उमेरमा भागेर गर्ने विवाह रोक्ने अझ धेरै कार्यक्रम ल्याउनुपर्ने छ, उनले भनिन् ।
गाउँमा समस्या धेरै छन् । तर काम भने भएका छैनन् । ‘मैले महिलाको जनचेतनामुलक सिपमुलक र रोजगारमुलक कार्यक्रम गर्ने बजेट छुट्याउँ भनें, उहाँले मन गर्नुभएन ।  तपाइले खाने पैसा खोज्नुभयो, पैसा गोजामा हाल्ने हो भन्नुभयो’ उपमेयर भन्छिन्,‘विकास निमार्णको कार्यक्रम ल्याएर बजेट छुटयाउँ भन्दा खानका लागि यो गरियो भनेपछि कसलाई कामगर्न मन लाग्छ ?’
मेयरले मात्र होइन, अन्यले पनि त्यसरी प्रश्न गरेको उनले सुनाइन । ‘न्यायसमितिमा राखेका सल्लाकारले पनि त्यसै भन्नुभयो– १० लाख भएपुग्छ, २० लाख किन चाहियो भने  । कामका लागि बजेट छुटयाउन प¥यो भन्दा किन चाहियो बढि पैसा,  खान हो भन्नुहुन्छ’ उनले भनिन्,‘अरुले त भन्ने कुरै छैन । आफ्नै मेयरले भन्नुहुन्छ शुरुमै खान्छन् भनेपछि किन गर्ने  ? त्यही भएर म काम नगरी उठ्या छु । उठेर नै हिजो सुर्खेत आए । आज यता छु ।’
#चक्रपथबाट साभार