संकल्प मिडिया सेन्टरद्वारा संचालित

इन्द्रेणी फुडल्याण्डमा मन्त्रीको बैठक । फुडल्याण्ड र मन्त्रीको गाडी तोडफोड , अस्पतालमा अश्रुग्यास

  •  
  •   ५ श्रावण २०७५, शनिबार
  •  

हेमराज हुमागाई, ५ साउन, काठमाडौ । डा।गोविन्द केसिको समर्थनमा शनिबार तरुणदलले बानेश्वरमा शक्ति प्रदर्शन गरेको छ ।

प्रदर्शनमा प्रहरी र तरुण दल बीच झडप हुदा मन्त्रीका गाडी, रेष्टुरेन्ट र अस्पतालमा क्षति पुगेको छ ।

शनिबार सरकारी विदाको दिन नयाँ बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्ड नजिकै मन्त्रीका तीनवटा झण्डावाल स्कर्पियो गाडीहरु रोकिएका थिए । रेष्टुरेन्टका छेउमा रोकिएका सरकारी गाडीहरु तरुण दलको निशानामा परेका छन । अन्दोलनकारीको ढुंगा प्रहारबाट झण्डावाल सरकारी गाडी र एउटा प्राइभेट गाडीको सिसा फुटेको छ ।

 तोडफोड भएका झण्डावाल गाडीहरु प्रदेश नम्बर २, ३ र ४ का सामाजिक विकास मन्त्रीका थिए । तीमध्ये एउटा प्रदेश ३ का मन्त्री युवराज दुलालको रहेको र सिसा फुटेको प्राइभेट गाडी भने इन्द्रेणी होटलको रहेको छ। मन्त्रीहरु सरकारी काम लिएर शनिबारका दिन निजी होटलमा ‘बैठक’ बसिरहेकै बेला बाहिरबाट विपक्षी कार्यकर्ताले गाडी तोडफोड गरिदिएका हुन् । मन्त्रीका गाडीहरु निशानामा पर्नुले सरकारको सुरक्षा कमजोरीसमेत प्रकट भएको छ । तरुण दलका कार्यकर्ताको ढुंगा प्रहारबाट एकजना वेटर घाइते भएको र सिसा फुट्नाले करिब १० लाखको क्षति भएको इन्द्रेणी फुडल्याण्डका सञ्चालक विष्णु श्रेष्ठले बताएका छन ।

प्रहरी र तरुणदलवीच झडप भइरहेको ठाउँमा एभरेष्ट अस्पताल छ । अस्पतालकै अगाडि भएको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा ग्यास अस्पतालभित्रै पसेको प्रत्यक्षदर्शीले बताए । अस्पतालको गेटैमा दोहोरो झडप भएको हो ।