संकल्प मिडिया सेन्टरद्वारा संचालित

इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   एजेन्सी

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ । आइतबार राती भएको खेलमा इन्टरले काग्लियारीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

काग्लियारीको घरेलु मैदानमा खेलको २७ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा काग्लियारीका जोआ पेड्रोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७२ औं मिनेटमा रोमेरो लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।

तर,इन्टरको जितमा नायक बनेका लुकाकुमाथि रंगभेदी दुर्व्यवहार भएको छ । पेनाल्टीमा निर्णायक गोल गरेपछि काग्लियारीका समर्थकले लुकाकुलाई बादरको संज्ञा दिदै जिस्काएका थिए ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले लुकाकुमाथि भएको दुर्व्यवहारको छानबिन गर्ने र दोषीलाई कडा कारबाही गर्ने जनाएको छ ।

यो जितसँगै इन्टरले २ खेलबाट ६ अंक जोडेको छ । शीर्ष स्थानको इन्टरको यो लगातार दोस्रो जित हो । काग्लियारीको यो लगातार दोस्रो हार हो । यस्तै सिरी ‘ए’ मै लाजियो र रोमाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।