संकल्प मिडिया सेन्टरद्वारा संचालित

आज १६ औं निजामती दिवस : कर्मचारीलाई विदा छ की छैन ?

  •   काठमाडौं
  •   २२ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

आज १६औँ निजामती दिवस। देशभरी भव्य रूपमा मनाइँदै छ । २०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन (भदौ २२) को सम्झनामा ०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो। तीनै तहमा ९३ हजार कर्मचारी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक रहेको छ।

यस वर्षको नारा ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ तय गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित सन्दर्भमा राष्ट्रसेवक कर्मचारीले सेवाप्रति इमानदार, कर्तव्यप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी, कानुनसम्मत रूपमा अगाडि बढ्नु नै निजामती सेवा दिवसको सफलता हुने बताएका छन्।

निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासन प्रदान गर्न निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ। राज्यलाई नागरिकको घरदैलोसम्म पु¥याउने माध्यम नै निजामती सेवा हो। जनताले तिरेको करबाट निजामती प्रशासन चल्ने भएकाले कर्मचारीतन्त्र जनतामुखी होस् भन्ने अपेक्षा बढ्दो छ। सरकारको ऐनाका रूपमा चिनिने निजामती कर्मचारी सरकारको प्रमुख प्रशासनिक संयन्त्र हो।

कतिपय व्यक्तिले निजामती कर्मचारीको सेवा प्रवाह गर्ने प्रवृत्तिलाई सरकारप्रतिको धारणासमेत बनाउने गरेका छन्। अहिले निजामती कर्मचारीप्रति हेर्ने नागरिकको दृष्टिकोण सकारात्मक बन्न सकेको छैन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडा पनि प्रशासनप्रति जनताको विश्वास कम भएको र जनतासँगको दूरी कम गर्नुपर्नेमा जोड दिएकी छन्।

सरकारको नीति र निर्णय कार्यान्वयन गर्ने प्रमुख निकाय नै निजामती प्रशासन भएकाले कर्मचारीको व्यवहारसँग सरकारको लोकप्रियता पनि जोडिएको हुन्छ । जबसम्म निजामती प्रशासनको सेवा प्रवाहमा सुधार हुँदैन तबसम्म सरकारलाई हेर्ने जनताको दृष्टिकोण पनि सकारात्मक बन्न सक्दैन भन्ने भनाइ पनि आएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बराल निजामती सेवामा केही कर्मचारी नराम्रा होलान् तर सबैलाई एउटै डालोमा हालेर हेर्न नहुने बताउछन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले केही निजामती कर्मचारीको गलत प्रवृत्तिलाई आकलन गर्दै समग्र निजामती सेवालाई नै नकारात्मक रूपमा हेर्न नहुने बताउछन्। दिवसको दिन आज कर्मचारीको विदा छैन । उनीहरुलाई कार्यक्रम गर्न दिवस मनाउँन छुट भने छ ।