संकल्प मिडिया सेन्टरद्वारा संचालित

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

  •  
  •   २३ भाद्र २०७५, शनिबार
  •  

भदौ २३, काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । पाइलट निश्चल केसीले उडाएको हेलिकोप्टरमा ७ जना सवार थिए । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।
स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो । तर प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको बताए । उनले भने, ‘हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउनासाथ प्रहरी टोली मुभ भइसकेको छ । फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन ।’ प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने उनको भनाइ छ ।
गोर्खाको सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो । गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । गोर्खाको चुमनुब्री गाउँपालिकाको सामागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।