त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

अर्थ मन्त्रालयका सहसचिवको सरूवा, को कहाँ पुगे?

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी खबर

काठमाडौं- अर्थ मन्त्रालयका केही सहसचिवको सरूवा भएको छ। प्रधानमन्त्री कार्यालयबाट आएका सहसचिव विनोद कुँवरलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ। शुक्रबारको निर्णयबाट कुँवरलाई विभाग पठाइएको हो।

अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई भन्सार विभागको महानिर्देशक बनाइएको छ। भन्सारका महानिर्देशक रहेका रामेश्वर दंगालको सरूवा भएपछि रिक्त स्थानमा दाहाललाई पठाइएको छ।

अर्थको प्रशासन महाशाखामा सहसचिव झक्कप्रसाद आचार्यको सरूवा भएको छ। मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका उनी यसअघि प्रशासनमै उपसचिव भइसकेका व्यक्ति हुन्।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यास्तरी करदाता कार्यालय प्रमुख बनाइएको छ। तत्काललाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख खाली राखिएको छ।

वीरगन्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ। त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग ल्याइएको छ।

भन्सार विभागबाट तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा पठाइएको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ।

यसैगरी भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजस्व तालिम केन्द्रको प्रमुख बनाइएको छ। भर्खरै सरूवा भएर अर्थ मन्त्रालय आएका मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ।

अर्थ मन्त्रालयकै अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई पनि आन्तरिक राजस्व विभागमै उपमहानिर्देशक बनाइएको छ।