संकल्प मिडिया सेन्टरद्वारा संचालित

अर्को अविश्वसनीय कम्ब्याक : टोट्टनहाम च्याम्पियन्स लिगको फाइनलमा

  •  
  •   २६ बैशाख २०७६, बिहीबार
  •  

युरोपियन च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लबको दबदबा कायम रहेको छ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको सेमिफाइनल खेलको दोस्रो लेगमा इङ्लिस क्लब टोट्टनहाम डच टोली आयाक्सलाई उसैको मैदानमा ३–२ गोलले हराउँदै फाइनलमा पुगेको छ ।

पहिलो लेगमा आफ्नै घरमा १–० गोलले पछि परेको टोट्टनहामले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गरेको हो । टोट्टनहामले समग्रमा ३–३ गोलको बराबरी गर्दै अवे गोलको आधारमा फाइनलमा स्थान बनायो । फाइनलमा टोट्टनहामले अर्को इङ्लिस क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल मंगलबार मात्र स्पेनिस महारथि बार्सिलोनालाई समग्रमा ४–३ गोलले हराउँदै फाइनलमा पुगेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा टोट्टनहामको जितमा ब्राजिलियन स्ट्राईकर लुकास मौराले ह्याट्रिक पूरा गरेका थिए । टोट्टनहाम पहिलो हाफसम्म २–० गोलले पछि परेको थियो । आयाक्सले खेलको पाँचौं मिनेटमा खाता खोलेको थियो । आयाक्सका लागि १९ बर्षीय कप्तान माथिस डि लेटले हेड गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३५ औँ मिनेटमा हाकिम जियाचले गोल गर्दै आयाक्सको अग्रता दोब्बर बनाए । पहिलो हाफमा लय गुमाएको टोट्टनहामले दोस्रो हाफमा उत्कृष्ट पुनरागनम गरेको थियो ।
पहिलो हाफसम्म समग्रमा ३–० गोलले पछि परेको टोट्टनहामलाई लुकास मौराले दोस्रो हाफमा उद्धार गरेका थिए । लुकासले ५५औं मिनेटमा गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । उनले ५९आंै मिनेटमा दोस्रो र इन्जुरी समयमा ह्याट्रिक पूरा गरेका थिए । लुकासले ह्याट्रिक गरेपछि युवा खेलाडीले भरिएको आयाक्सको फाइनल पुग्ने सपना चकनाचुर भएको थियो ।
उपाधिका लागि टोट्टनहामले जुन १ तारिख लिभरपुलसँग खेल्नेछ । च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस क्लबको भिडन्त हुन लागेको सन् २००८ पछि पहिलो पटक हो । सन् २००८ मा म्यानचेस्टर युनाईटेड र चेल्सी फाइनलमा भिडेका थिए ।