संकल्प मिडिया सेन्टरद्वारा संचालित

अन्तिम समयमा नतिजा उल्ट्याउँदै एथ्लेटिको स्पेनिस लिगको शीर्षस्थानमा

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   एजेन्सी

एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबारको खेलमा एइबारलाई ३-२ गोलअन्तरले पराजित गर्दै एथ्लेटिको शत प्रतिशत जित नतिजासहित लिगको शीर्षस्थानमा पुगेको हो ।

पाहुना टोली एइबारले पहिलो हाफमै २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजय भोग्नुपर्यो । खेलको आठौँ मिनेटमा फाबियन ओरेलानाको क्रसमा चार्ल्सले हेडरमार्फत गोल गर्दै एइबारलाई अग्रता दिलाए । १९ औं मिनेटमा अनैत्ज अर्बिल्लाले एइबारको अग्रता दोब्बर पारेका थिए । खेलको २७ औं मिनेटमा टिनएज स्टार जोआओ फेलिक्सले एथ्लेटिकोलाई खेलमा फर्काए । उनले डिएगो कोस्टाको पासलाई गोलमा परिणत गर्दै अग्रता घटाए ।

दोस्रो हाफको ५२ औं मिनेटमा एथ्लेटिकोले खेल बराबरीमा ल्यायो । दोस्रो हाफमा मैदान प्रवेश गरेका भिटोलोले रोमन लोडिको पासमा गोल गरेका थिए । त्यसपछि डिएगो कोस्टाले दुई पटक बल गोलपोस्टभित्र छिराएपनि रेफ्रीले त्यसलाई अफसाइड भएको भन्दै मान्यता दिएनन् । खेलको अन्तिम मिनेटमा अर्का वैकल्पिक खेलाडी थोमस पार्टेले डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएपछि घरेलु टोली विजयी रहयो ।

लिगको तेस्रो खेल सकिंदा एथ्लेटिको शत प्रतिशत जित दर्ता गर्ने एकमात्र टोली हो । बार्सिलोना र रियल मड्रिडले भने जारी सिजन अपेक्षित सुरुवात गर्न सकेका छैनन् । एटलेटिको ९ अंकसहित शीर्षस्थानमा रहँदा ५ अंक जोडेको रियल पाँचौ र ४ अंक बोकेको बार्सिलोना आठौं स्थानमा छन् । समान ७-७ अंक जोडेका एथ्लेटिक बिल्बाओ र सेभिल्ला शीर्ष ३ मा अटाएका छन् ।