संकल्प मिडिया सेन्टरद्वारा संचालित

अनुशासन उल्लंघन गर्नेलाई कारबाही सिफारिस गर्ने आयोग नै अपूरो

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अनुशासन उल्लंघन गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने बताउँदै गरेको भए पनि पार्टीको अनुशासन आयोग नै अपूरो छ । पार्टीको अनुशासन हेर्ने, कारबाहीको निर्णय गर्ने निकाय नै अपूरो भएपछि पार्टी सचिवालयको निर्णय अन्योलमा परेको छ । नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशिकामा पार्टी अनुशासन गर्नेलाई कारबाही गर्ने उल्लेख गरिएको छ । हालै सचिवालय बैठकले गरेको निर्णय उल्लेख गर्दै जारी गरिएको निर्देशिकामा पार्टी, नीति, नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना नगर्न उल्लेख गर्दै त्यसो गरेकामा कारबाही गरिने बताइएको छ । तर, अनुशासन हेर्ने पार्टीको आयोग अहिलेसम्म निर्माण नै हुन सकेको छैन ।

नेकपा सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अनुशासन आयोगले पूर्णता नपाएसम्म त्यसको जिम्मेवारी सम्बन्धित कमिटीले नै गर्ने बताए । अनुशासनको निगरानी एवं कारबाही विषयमा सम्बन्धित कमिटीले नै हेर्ने उनले बताए । ‘अनुशासन आयोग गठन गर्ने गृहकार्य भइरहेको छ । हामी छिट्टै नै टुंगो लगाउँछौं’ श्रेष्ठले भने, ‘आयोगको टुंगो नलागेसम्म सम्बन्धित कमिटीले नै हेर्छ, आयोगको काम हालकै कमिटीबाट हुन्छ ।’

पार्टीको विधानअनुसार अनुशासनसहित तीन आयोग रहेको छ । लेखा र निर्वाचन आयोगले समेत पूर्णता पाउन सकेको छैन । तत्कालीन एमाले र माओवादीबीचमा पार्टी एकता भएको १५ महिना बित्दासमेत ती तीनवटै आयोगले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

‘अनुशासन आयोग गठन गर्ने गृहकार्य भइरहेको छ । हामी छिट्टै नै टुंगो लगाउँछौं’ श्रेष्ठले भने,

‘आयोगको टुंगो नलागेसम्म सम्बन्धित कमिटीले नै हेर्छ । आयोगको काम हालकै कमिटीबाट हुन्छ ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको अन्तरपार्टी निर्देशिका २ मा पार्टीका नेता तथा कार्यकर्ताले नेतृत्वको विषयमा आलोचना गर्नुपरे पार्टी कमिटीभित्र गर्नुपर्ने तर सार्वजनिक रूपमा टिप्पणी गर्न रोक लगाएको छ । यसलाई उल्लंघन गर्ने नेता तथा कार्यकर्तालाई स्पष्टीकरणदेखि कारबाहीसम्म हुने भन्दै सचेत गराइएको छ । तर, पार्टीको पछिल्ला गतिविधिले अनुशासनको हेर्ने प्रमुख अंग अनुशासन आयोग गठनमा भने नेतृत्वले चासो नदिएकै कारण अन्योल सिर्जना भएको छ ।

पार्टी शीर्ष नेतृत्वबीच अनुशासन आयोग, लेखा र सल्लाहकार परिषद् तत्कालीन एमाले र निर्वाचन तथा ज्येष्ठ कम्युनिस्ट मञ्च तत्कालीन माओवादी केन्द्रले लिने सहमति भएको थियो । तर, यो विषयले औपचारिक रूपमा नेकपाको सचिवालय बैठकमा प्रवेश पाएको छैन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनी फर्किएपछि एकताको बाँकी कामसमेत टुंगो लाग्ने बताइएको छ । पार्टी अध्यक्षद्वयबीच अनुशासन आयोगमा अमृतकुमार बोहोरा, सल्लाहकार परिषद्मा केशव बडाल, निर्वाचन आयोगमा अमिक शेरचन, लेखा आयोगमा डा. पुष्प कँडेल, ज्येष्ठ कम्युनिस्ट मञ्चमा नन्दकुमार प्रसाईंलाई जिम्मेवारी दिने आन्तरिक सहमति भइसकेको स्रोतले जनाएको छ । राजधानीबाट