संकल्प मिडिया सेन्टरद्वारा संचालित

अनावश्यक कर नलगाउन राजपाद्वारा स्थानीय जनप्रतिनिधिलाई निर्देशन

  •  
  •   ११ भाद्र २०७५, सोमबार
  •  

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनतालाई भार पर्ने कुनै किसिमको  नयाँ कर नलिन स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएको छ ।  सो पार्टीले करको विषयमा हल्ला मचाई संघीयता विरोधीहरुले  संघीयतालाई बदनाम गराउन खोजेको दावी समेत गरेको छ । महानगरपालिका/नगरपालिका/गाँउ पालिकामा जनतालाई थप भार पर्ने कुनै पनि किसिमको नयाँ कर नथपिने दाबी गर्दै सो पार्टीले अवैज्ञानिक, अनुपयुक्त र अव्यवहारिक रुपमा लागु गरिएको करवाट जनतालाई राहत दिइने निर्णय समेत गरेको छ ।
उक्त पार्टीले स्थानीय तहका प्रतिनिधिलाई काठमाडौ बोलाएर स्थानीय तहमा लागू भएको करको बारेमा सोमवार छलफल गरेको छ ।  छलफलमा बोल्ने अधिकाँश प्रमुख तथा उपप्रमुखले कही पनि अनावश्यक कर लागू नगरिएको दाबी गर्दै विरोधीहरुले अनावश्यक हल्ला मात्र चलाएको धारणा राखेका थिए ।  कुनै पनि ठाउँमा जनतालाई असर पार्ने खालका कर लागू भएको पाइएमा त्यसलाई सच्याउने प्रतिबद्धता समेत स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जनाएका छन् ।
साथै संविधान संशोधन, मधेश तथा थरुहट आन्दोलनको क्रममा लगाइएका झुट्टा मुद्दा फिर्ता, बन्दी रिहाई, निर्वाचित सांसद रेशम चौधरीको सपथ ग्रहण तथा रिहाई, घाईतेहरुका थप  उपचार तथा मधेश  आन्दोलनका क्रममा घटेका घटनाहरुको छानविन गर्न बनेको आयोगका  प्रतिवेदन तत्काल सार्वजनिक गर्न बैठकले माग गरेको पार्टीका संयोजक महन्थ ठाकुरले  जानकारी दिए ।
किसानका लागि अपूग भइरहेको मल खाद्यसँग सम्बन्धित निकायसँग समन्वय गरी किसानलाई  उपलब्ध गराउन पनि पार्टीले निर्देशन दिएको छ । किसानका लागि अहिले मुख्य समय भएको र यसबेला मल खाद्यको अभाव हुनु दिन नहुने भन्दै पार्टीले स्थानीय तहका  जनप्रतिनिधिलाई शहीद परिवारको एक सदस्यलाई रोजगारको व्यवस्था गर्न समेत निर्देशन  दिएको संयोजक ठाकुरले जानकारी दिए ।
त्यसैगरि पार्टीको घोषणापत्रअनुसार पार्टी नेतृत्वसँग समन्वय गरि जनताको सल्लाहअनुसार  विकास कार्य गर्न समेत निर्देशन दिएको छ । तराई–मधेश लगायत देशका विभिन्न भागमा भू– स्खलन, बाढी, नदी कटानबाट पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै सो पार्टीले सरकारसँग यस्ता प्रकोप नियन्त्रण गर्न र पीडितलाई राहत प्रदान गर्न समेत माग गरेको छ ।